Breaking
politics

सरकारले सम्मान गरोस् : गगन थापा

12 days ago • B.S. 2083 Kartik 15politics
Gagan Tahapa.png

नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाँच वर्ष सरकार सञ्चालन गर्ने जनादेश पाएको कुरालाई कांग्रेसले सम्मान गरेको बताउनुभएको छ। उहाँले कांग्रेसले पनि पाँच वर्ष प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्ने जनादेश पाएकाले सरकारले त्यसको सम्मान गर्नुपर्ने बताउनुभयो।

आइतबार विशेष सम्बोधन गर्दै सभापति थापाले रास्वपालाई पाँच वर्ष सरकार सञ्चालन गर्ने जनादेश प्राप्त भएको स्वीकार गर्दै कांग्रेसले त्यसलाई पूर्ण सम्मान गर्ने बताउनुभयो।

उहाँले भन्नुभयो, “राष्ट्रिय स्वतन्त्र पार्टीले पाँच वर्षलाई सरकार चलाउने म्यान्डेट पाएको छ। हामी यसलाई पूर्ण सम्मान गर्छौं। र, पाँच वर्ष नेपाली कांग्रेस पार्टीले प्रमुख प्रतिपक्षको म्यान्डेट पाएको छ भन्ने कुरा पनि सरकारले बुझोस्, सम्मान गरोस्।”

लोकतन्त्रको रक्षा, सरकारको निगरानी र खबरदारी गर्नु कांग्रेसको जिम्मेवारी रहेको पनि उहाँले बताउनुभयो। सरकारलाई मनोमानी गर्न दिने र जवाफदेहीविहीन बन्न दिने कुरा स्वीकार्य नहुने उहाँको भनाइ छ।

सरकारले डर देखाएर नभई जनताको विश्वास जितेर शासन गर्नुपर्नेमा जोड दिँदै थापाले सरकारसँग संवाद, प्रतिवाद र सहकार्य गर्न कांग्रेस तयार रहेको बताउनुभयो।