बोस्नियामा इटालियन सैन्य हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु र ११ घाइते

बोस्निया–हर्जगोभिनामा युरोपेली संघको शान्ति मिसनमा आबद्ध इटालियन सैन्य हेलिकोप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
बिहीबार ब्रचको क्षेत्रमा नियमित सैन्य अभ्यासका क्रममा सीएच–४७ चिनुक हेलिकोप्टर दुर्घटनामा परेको हो। दुर्घटनास्थल राजधानी सारायेभोबाट करिब १८० किलोमिटर उत्तरमा रहेको छ।
इटालीको रक्षा मन्त्रालयका अनुसार मृत्यु हुनेमा दुई सैनिक र रेडक्रसका दुई स्वयंसेवक रहेका छन्। हेलिकोप्टरमा सवार सबै इटालियन नागरिक रहेको जनाइएको छ।
दुर्घटनामा सुरुमा तीन जनाको मृत्यु भएको थियो। घाइते १२ जनालाई अस्पताल पुर्याइएकोमा उपचारका क्रममा थप एक जनाको मृत्यु भएको अस्पतालले जनाएको छ। अन्य ११ जनाको अवस्था स्थिर रहेको र उपचार भइरहेको ईयूफोरले जनाएको छ।
दुर्घटनाको कारण खुल्न सकेको छैन। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको ईयूफोरले जनाएको छ।
बोस्नियामा सन् २००४ देखि तैनाथ ईयूफोर मिसनमा एक हजारदेखि १५ सयसम्म सुरक्षाकर्मी आबद्ध छन्। सन् १९९५ मा बोस्निया युद्ध अन्त्य गर्ने डेटन शान्ति सम्झौताको कार्यान्वयनमा सहयोग गर्नु यस मिसनको मुख्य जिम्मेवारी रहेको छ।