काठमाडौँका सात वडाका ३०२ रोपनी जग्गा सरकारको नाममा कायम

सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गर्ने अभियानअन्तर्गत काठमाडौँ महानगरपालिकाका सात वटा वडाको ३०२ रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याइएको छ। सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा उक्त जग्गा सरकारको नाममा कायम गरिएको हो।
भूमि प्रशासन कार्यालय डिल्लीबजारले महानगरपालिकाका वडा नम्बर ४, ५, ८, ९, १०, १२ र २९ का विभिन्न कित्ताबाट अतिक्रमित भनिएको क्षेत्रफल कट्टा गरी सरकारको नाममा ल्याएको जनाएको छ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गठन गरेको प्रतिवेदन कार्यान्वयन समितिले यससम्बन्धी काम अघि बढाएको हो। प्रतिवेदन कार्यान्वयनका लागि प्रमुख नापी अधिकृत रमेश ज्ञवालीको संयोजकत्वमा समिति गठन गरिएको छ।
रावल आयोगले २०५२ सालमा सरकारी तथा सार्वजनिक जग्गाको अवस्था अध्ययन गरी अतिक्रमणमा परेका र व्यक्तिका नाममा दर्ता भएका जग्गा संरक्षण गर्न सरकारलाई सुझावसहित प्रतिवेदन बुझाएको थियो।
लामो समयदेखि कार्यान्वयन हुन नसकेको उक्त प्रतिवेदनलाई सरकारले अहिले कार्यान्वयनमा ल्याएको हो। आयोगले औँल्याएका सम्पूर्ण जग्गाको छानबिन गरी सरकारको नाममा कायम गर्ने प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।