गण्डकीका १४ अस्पतालमा ४६ मेडिकल अधिकृत नियुक्त, स्वास्थ्य सेवामा सुधार
गण्डकी प्रदेशअन्तर्गत हाल १० जिल्ला अस्पतालसहित संक्रामक तथा सरुवा रोग अस्पताल, मातृशिशु अस्पताल, गोरखाको आँपपिपल अस्पताल र बागलुङको बुर्तिबाङ अस्पताल गरी १४ अस्पताल सञ्चालनमा

गण्डकी प्रदेशका दुर्गम तथा हिमाली जिल्लाका अस्पतालमा चिकित्सक अभावको समस्या कम हुँदै गएको छ। प्रदेश सरकारले एकैपटक ४६ जना मेडिकल अधिकृत नियुक्त गरी मातहतका १४ अस्पतालमा खटाएसँगै स्वास्थ्य सेवा प्रवाहमा सुधार आउने अपेक्षा गरिएको छ।
मुस्ताङ र मनाङजस्ता हिमाली जिल्लाका अस्पतालमा स्थायी चिकित्सक नहुँदा विगतमा छात्रवृत्ति तथा करारका चिकित्सकको भरमा सेवा सञ्चालन गर्नुपर्ने अवस्था थियो। अस्पताल प्रमुखसमेत चिकित्सक नहुँदा हेल्थ असिस्टेन्ट र स्टाफ नर्सलाई निमित्त जिम्मेवारी दिनुपर्ने बाध्यता रहेको थियो।
प्रदेश लोकसेवा आयोगबाट सिफारिस भएका ४६ जना मेडिकल अधिकृतलाई योग्यता क्रमका आधारमा प्रदेशका १४ अस्पतालमा नियुक्त गरिएको स्वास्थ्य मन्त्री नन्दप्रसाद न्यौपानेले जानकारी दिनुभयो। उहाँका अनुसार सातै प्रदेशमध्ये एकैपटक यति ठूलो सङ्ख्यामा मेडिकल अधिकृत नियुक्त गर्ने गण्डकी पहिलो प्रदेश बनेको छ।
संघीयता कार्यान्वयनको सुरुआतमा गण्डकीमा १० जना मेडिकल अधिकृत मात्र समायोजन भएका थिए। अहिले प्रदेशमा विशेषज्ञ चिकित्सक र मेडिकल अधिकृत गरी २५० जना चिकित्सक तथा ५०० जना नर्सिङ कर्मचारी कार्यरत रहेको जनाइएको छ।
प्रदेश सरकारले अस्पतालहरूको स्तरोन्नति गर्दै स्वीकृत शय्या क्षमता पनि बढाएको छ। २०८१ जेठमा गरिएको निर्णयअनुसार प्रदेश मातहतका नौ अस्पतालको कुल शय्या क्षमता ३०० बाट बढाएर ८०० पुर्याइएको छ। त्यसैगरी अस्पतालहरूको कुल दरबन्दी ३९८ बाट बढाएर एक हजार २५ पुर्याइएको छ।
यससँगै जिल्ला अस्पतालहरूमा विशेषज्ञ चिकित्सक र मेडिकल अधिकृतको दरबन्दीसमेत विस्तार गरिएको छ। विगतमा १५ शय्यामा सीमित अस्पतालहरूमा अहिले ५० शय्यासम्मको क्षमता र थप चिकित्सकीय जनशक्तिको व्यवस्था गरिएको प्रदेश सरकारले जनाएको छ।
चिकित्सक तथा स्वास्थ्यकर्मीको उपलब्धता बढेसँगै अस्पतालमा उपचार सेवा लिने बिरामीको सङ्ख्यामा पनि वृद्धि भएको छ। आर्थिक वर्ष २०७७/७८ मा प्रदेश मातहतका अस्पतालबाट तीन लाख २६ हजार जनाले सेवा लिएकोमा गत आर्थिक वर्षमा यो सङ्ख्या बढेर नौ लाख ३५ हजार पुगेको तथ्याङ्क छ।
गण्डकी प्रदेशअन्तर्गत हाल १० जिल्ला अस्पतालसहित संक्रामक तथा सरुवा रोग अस्पताल, मातृशिशु अस्पताल, गोरखाको आँपपिपल अस्पताल र बागलुङको बुर्तिबाङ अस्पताल गरी १४ अस्पताल सञ्चालनमा छन्।
यसअघि २०७५ सालमा साविकका जिल्ला अस्पताल तथा स्वास्थ्य कार्यालय प्रदेश सरकार मातहत हस्तान्तरण गरिएका थिए। त्यसपछि प्रदेश सरकारले विभिन्न चरणमा अस्पतालहरूको स्तरोन्नति, शय्या क्षमता विस्तार र जनशक्ति व्यवस्थापन गर्दै आएको छ।
यद्यपि, प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधारका प्रयास भइरहँदा अस्पतालको शय्या विस्तार र स्वास्थ्य सामग्री खरिदलगायत विषयमा अनियमितताको आरोपसमेत उठेका छन्। पूर्वस्वास्थ्य मन्त्री लक्ष्मण पाण्डे र स्वास्थ्य सचिव डा. युवानिधि बसौलामाथि शय्या विस्तारका नाममा रकम मागेको आरोप लागेको छ। उक्त विषयमा आरोपको पुष्टि भइसकेको छैन।
जनशक्ति र पूर्वाधार विस्तारसँगै स्वास्थ्य सेवाको गुणस्तर, पहुँच र प्रभावकारिता कायम राख्नु प्रदेश सरकारका लागि थप चुनौती बनेको छ।