Breaking
Society

जातीय विभेदको आरोपमा पोखराका वडा सदस्यसहित तीन जना पक्राउ

11 days ago • B.S. 2083 Kartik 16Society

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानका अनुसार दसैँअघि जाहेरी प्राप्त

Jatiya bibad 2.jpg

पोखरा । पोखरा महानगरपालिका–१४ मा कार्यरत दलित महिला कर्मचारीमाथि जातीय विभेद गरेको आरोपमा वडा सदस्यसहित तीन जना पक्राउ परेका छन्।

वडा कार्यालयको भान्सामा प्रवेश गरी चिया तथा खाना पकाउन र पानी दिने काम गर्न रोक लगाएको भन्दै कर्मचारी गंगा विकले दिएको जाहेरीका आधारमा प्रहरीले वडा सदस्य कृष्णहरि काफ्लेसहित तीन जनालाई पक्राउ गरेको हो।

विकले आफूलाई कार्यालयको भान्सामा १६ दिनसम्म प्रवेश नगर्न भनिएको जाहेरीमा उल्लेख गरेकी छन्। आफूले यस्तो निर्देशन कसले दिएको हो भनेर सोध्दा कार्यवाहक वडाध्यक्षसमेत रहेका काफ्ले लगायतले रोक लगाएको जवाफ पाएको उनको दाबी छ।

विकका अनुसार उनी २०५९ सालदेखि पोखरा महानगरपालिकामा कार्यालय सहयोगीका रूपमा कार्यरत छिन्। करिब पाँच महिनाअघि वडा नम्बर १४ मा सरुवा भएर काम गर्न थालेकी थिइन्। घटनाको दिन कार्यालय सरसफाइपछि पानी पिउन भान्सामा जाँदा आफूलाई रोक लगाइएको उनले बताएकी छन्।

कार्यालयका कर्मचारी तथा जनप्रतिनिधिलाई घटनाबारे जानकारी गराउँदा पनि समस्या समाधान नभएपछि उनले जातीय तथा अन्य छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन, २०६८ अनुसार कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएकी हुन्। उनले दोषीमाथि कानुनी कारबाहीसँगै क्षतिपूर्तिको मागसमेत गरेकी छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानका अनुसार दसैँअघि जाहेरी प्राप्त भएको थियो। दसैँपछि बुधबार वडा सदस्य र दुई कर्मचारीलाई पक्राउ गरिएको हो। उनीहरूलाई कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

वडाध्यक्ष बोधबहादुर कार्कीले भने घटना हुँदा आफू पोखराबाहिर रहेको बताउनुभएको छ। पोखरा फर्किएपछि दुवै पक्षबीच कार्यालयमै छलफल गराएको र पीडितले कानुनी प्रक्रिया अघि बढाउने अडान लिएपछि प्रहरी अनुसन्धानमा सहयोग गर्ने उहाँको भनाइ छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।