ललितपुरमा बस्दै आएका धनुषाका एक युवकले ४१५ रुपैयाँको तोरीको तेल खरिद गर्दा १० लाख रुपैयाँको पुरस्कार जितेका छन्।
धनुषाको नगराइन नगरपालिका–९, घोरघास घर भएका गौरीशंकर पण्डित करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत लक्की ड्रमार्फत १० लाख रुपैयाँको विजेता बनेका हुन्।
उनले गत कात्तिक ५ गते ललितपुरको धापाखेलस्थित बिगमार्टबाट ४१५ रुपैयाँको तोरीको तेल खरिद गरेका थिए। ई–सेवामार्फत भुक्तानी गरेका उनको कुपन लक्की ड्रमा छनोट भएको हो।
आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले फोन गरेर विजेता बनेको जानकारी दिएपछि पण्डित खुसी भएका थिए। कार्यक्रममा सहभागी क्रिकेटर ललित राजवंशीले पनि उनलाई फोन गरी बधाई दिएका थिए।
६ सदस्यीय परिवारको जिम्मेवारी सम्हाल्दै आएका पण्डितले पुरस्कार रकमबाट गाउँको घर मर्मत गर्ने र बाँकी रकम लोक सेवा आयोगको तयारीमा खर्च गर्ने योजना बनाएका छन्।
उनले आफूले वर्षभरि गाडी चलाएर पनि यति रकम कमाउन नसक्ने भन्दै खुसी व्यक्त गरेका छन्। साथै, सामान खरिद गर्दा सबैलाई अनिवार्य रूपमा बिल लिन आग्रह गरेका छन्।
विजेता पण्डितलाई जनकपुरस्थित आन्तरिक राजस्व कार्यालयमा आवश्यक प्रक्रिया पूरा गर्न भनिएको छ। प्रक्रिया पूरा भएपछि आगामी मंसिर १ गते काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्रीबाट १० लाख रुपैयाँको चेक हस्तान्तरण गरिने कार्यक्रम रहेको छ।
यस घटनाले उपभोक्ताले सामान खरिद गर्दा अनिवार्य रूपमा बिल लिनुपर्ने महत्त्वलाई समेत उजागर गरेको छ।