पोखराका नौवटै ताल जोड्न एक अर्ब ५२ करोडको साइकल ट्रेल निर्माण गरिने

पोखराका नौवटै ताललाई साइकल ट्रेल र सडक सञ्जालमार्फत जोड्ने योजना अघि बढाइएको छ। यसका लागि एक अर्ब ५२ करोड रुपैयाँ लागतको आयोजना निर्माण गरिने भएको हो।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यका अनुसार वडा नम्बर ६ स्थित फेवाताल क्षेत्रबाट सुरु हुने साइकल ट्रेलले पोखराका सबै नौवटा ताललाई जोड्नेछ।
साइकल लेनसहित निर्माण गरिने यस आयोजनाबाट पर्यटकले साइकल तथा अन्य सवारीसाधनमार्फत तालसम्म सहजै पुग्न सक्ने महानगरको अपेक्षा छ।
आयोजना सम्पन्न भएपछि पर्यटकको पोखरा बसाइ कम्तीमा दुई दिन लम्बिने अनुमान गरिएको छ। साथै, कम चर्चामा रहेका ताल तथा आसपासका पर्यटकीय क्षेत्रको प्रचारप्रसार, स्थानीय व्यवसायको विस्तार र रोजगारी सिर्जनामा समेत सहयोग पुग्ने विश्वास गरिएको छ।
महानगर प्रमुख आचार्यले पोखराको प्राकृतिक सम्पदा, संस्कृति र साहसिक पर्यटनलाई एकीकृत गर्दै दिगो पर्यटन विकास गर्ने उद्देश्यले आयोजना अघि बढाइएको बताउनुभएको छ।