जातीय विभेद
जातीय विभेद आरोपमा वडा सदस्यसहित ३ जना पक्राउ

जातीय विभेद आरोपमा वडा सदस्यसहित ३ जना पक्राउ
। पोखरा महानगरपालिका–१४ को वडा कार्यालयमा कार्यरत दलित महिला कर्मचारीमाथि जातीय भेदभाव गरेको अभियोगमा जनप्रतिनिधिसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कार्यालय सहयोगी गंगा विकले दिएको जाहेरीका आधारमा प्रहरीले वडा सदस्य कृष्णहरि काफ्ले तथा कार्यालय सहयोगीहरू अम्बिका भण्डारी र देवी विकलाई पोखरा–१४ बाट पक्राउ गरेको हो ।
२०५९ देखि पोखरा महानगरपालिकामा कार्यरत विक करिब ५ महिनाअघि मात्र वडा नम्बर १४ मा सरुवा भएकी थिइन् । १२ असोजमा कार्यालय सरसफाइ गरेर पानी खान भान्साकोठामा जाँदा आफूलाई रोकिएको उनले जाहेरीमा खुलाएकी छन् । जाहेरीअनुसार भण्डारीले उनलाई भनेकी थिइन्, ‘गंगा दिदी आजबाट १६ दिन बार्ने भनेका छन् । तपाईंले चिया पकाउने, खाना पकाउने, पानी दिने काम नगर्दिनुहोला । पितृकार्य हो, आजबाट १६ दिनसम्म पानी भान्सा नछोइदिनुहोला ।’ यस्तो निर्देशन कसले दिएको भनी सोध्दा कार्यवाहक वडाध्यक्षसमेत रहेका काफ्ले लगायतले भनेको जवाफ आफूले पाएको विकको भनाइ छ। यसबारे कार्यालयका अन्य कर्मचारी र जनप्रतिनिधिलाई सुनाउँदा पनि कुनै समाधान नभएको उनले उल्लेख गरेकी छन् ।
सार्वजनिक सरकारी कार्यालयमै जातका आधारमा काम गर्न निषेध गरिएको भन्दै विकले २२ असोजमा जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएकी हुन् । उनले जातीय तथा अन्य छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन, २०६८ अनुसार कारबाही र उचित क्षतिपूर्तिको माग गरेकी छन् ।
दसैँअगाडि नै जाहेरी परेको भए पनि दसैँ सकिएलगत्तै बुधबार उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले बताए । ‘कास्की अदालतबाट सात दिनको म्याद थपेर हिरासतमा राखेका छौं,’ उनले भने, ‘घटनाबारे थप अनुसन्धान हुँदै छ ।’