Breaking
Society

बारामा झडपमा गोली लागेर घाइते भएका पासवानको अवस्था स्थिर, शिक्षण अस्पतालमा उपचार हुँदै

12 days ago • B.S. 2083 Kartik 15Society
Goli.png

 बाराको फेटा गाउँपालिका–३ मा अस्पताल उद्घाटनको विषयलाई लिएर भएको झडपमा गोली लागेर गम्भीर घाइते भएका आदित्य पासवानको काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

गोली लागेर घाइते भएका पासवानलाई अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले जानकारी दिएका छन्। उनका अनुसार पासवानको अवस्था हाल स्थिर छ।

बाराका सहायक प्रमुख जिल्ला अधिकारी छबिरमण भट्टराईका अनुसार घाइते पासवानलाई आइतबार बिहान ११ः४० बजे हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो। उनको कम्मरनजिक लागेको गोली निकालिएको र थप उपचार भइरहेको भट्टराईले बताएका छन्।

संघीय सरकारले निर्माण गरेको स्वास्थ्य केन्द्र उद्घाटनका लागि फेटा गाउँपालिकाले शनिबार बिहान कार्यक्रम आयोजना गरेको थियो।

कार्यक्रमका क्रममा गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीको विपक्षमा रहेका स्थानीयले स्वास्थ्य केन्द्र परिसरमा राखिएको शिलालेख तोडफोड गरेपछि विवाद सुरु भएको थियो। अध्यक्ष अन्सारी पक्षधर र विपक्षी स्थानीयबीचको विवाद झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको बताइएको छ।