Breaking
Society

पोखराको पर्यटन प्रवर्द्धन गर्न सात देशका डिजिटल क्रिएटर नेपालमा, विमानस्थलमा स्वागत

12 days ago • B.S. 2083 Kartik 15Society

नेपाल पर्यटन बोर्ड र टिकटकबीच सन् २०२५ अगस्ट १९ मा नेपालको पर्यटनलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर

Pokhara paryatan.jpg

नेपालको प्राकृतिक सौन्दर्य, संस्कृति र पर्यटकीय सम्भावनालाई अन्तर्राष्ट्रिय बजारमा चिनाउने उद्देश्यसहित सात देशका चर्चित डिजिटल कन्टेन्ट क्रिएटर नेपाल आएका छन्। उनीहरूमध्ये संयुक्त अरब इमिरेट्स (यूएई) र ट्युनिसियाका तीन जना क्रिएटर फ्लाई दुबईको विमानमार्फत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

पोखरा आइपुगेका विदेशी क्रिएटरलाई पर्यटन व्यवसायी तथा पर्यटन क्षेत्रका प्रतिनिधिले विमानस्थलमा स्वागत गरेका छन्। उनीहरूको भ्रमणले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने पर्यटन व्यवसायीहरूको विश्वास छ।

नेपाल पर्यटन बोर्ड र सामाजिक सञ्जाल प्लेटफर्म टिकटकको सहकार्यमा आयोजित यस भ्रमणमा फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, यूएई, बङ्गलादेश र श्रीलङ्काका डिजिटल क्रिएटर सहभागी छन्।

भ्रमणका क्रममा उनीहरूले पोखरा, चितवन र बर्दियाका प्रमुख पर्यटकीय गन्तव्यको अवलोकन गरी भिडियो तथा डिजिटल सामग्री निर्माण गर्नेछन्। पोखरामा फेवाताल, हिमाली दृश्य, प्राकृतिक सौन्दर्य, साहसिक पर्यटन, स्थानीय संस्कृति र आतिथ्यलाई प्राथमिकताका साथ प्रस्तुत गरिनेछ।

पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले पोखरामा फ्लाई दुबईको नियमित उडान सुरु भएपछि अन्तर्राष्ट्रिय पर्यटकका लागि पोखरा पुग्ने सम्भावना फराकिलो बनेको बताउनुभयो। अन्तर्राष्ट्रिय हवाई सम्पर्कसँगै प्रभावकारी प्रचारप्रसारलाई अघि बढाउन सके विदेशी पर्यटकको आगमन बढाउन सकिने उहाँको भनाइ छ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाका अनुसार क्रिएटरहरूले टिकटकसहित विभिन्न सामाजिक सञ्जालमार्फत नेपालका पर्यटकीय गन्तव्यका सामग्री अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउनेछन्। यसबाट नेपालको पर्यटन पहिचान विस्तार हुनुका साथै विदेशी पर्यटकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्ने अपेक्षा गरिएको छ।

यस अभियानअन्तर्गत बङ्गलादेश, श्रीलङ्का, ट्युनिसिया र यूएईका क्रिएटरले पोखराका पर्यटकीय आकर्षण समेट्नेछन्। फ्रान्सका क्रिएटरले चितवनको वन्यजन्तु र थारू संस्कृति तथा पोर्चुगल र दक्षिण कोरियाका क्रिएटरले बर्दियाको प्राकृतिक वातावरण, वन्यजन्तु र समुदायमा आधारित पर्यटनलाई आफ्ना सामग्रीमा समेट्नेछन्।

नेपाल पर्यटन बोर्ड र टिकटकबीच सन् २०२५ अगस्ट १९ मा नेपालको पर्यटनलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको थियो। सोही सहकार्यअन्तर्गत सुरु गरिएको ‘लाइफटाइम एक्सपिरियन्सेस’ अभियानले नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक गतिविधि र स्थानीय जीवनशैलीलाई डिजिटल माध्यमबाट विश्वभर पुर्‍याउने लक्ष्य राखेको छ।

डिजिटल माध्यमबाट पोखराको प्रचारप्रसार विस्तार हुँदा होटल, रेस्टुरेन्ट, ट्राभल तथा ट्रेकिङ व्यवसाय र स्थानीय समुदायले समेत लाभ लिन सक्ने पर्यटन व्यवसायीहरूको अपेक्षा छ।